कैलालीमा ६ हजार घर डुबानमा, दुई हजार विस्थापित

कैलाली – दुई दिनदेखिको लगातार वर्षाले ६ हजार बढि घर डुबानमा परेका छन् । उनीहरू मध्ये दुई हजार परिवार विस्थापित भएका छन् ।

डुबानबाट जोशीपुर गाउँपालिका र भजनी नगरपालिका सबैभन्दा बढी प्रभावित भएका छन् । भजनीमा २ हजार एक सय ८० परिवार बाढीबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यस्तै, जोशीपुर गाउँपालिकामा दुई हजार तीन सय १५ परिवार डुबानमा परेका छन । त्यस्तै, जानकी गाउँपालिकामा एक हजार र टीकापुर नगरपालिकामा ८ सय २५ परिवार डुबानमा परेका छन ।

टीकापुरमा बाढीले ३० घर भत्किएका छन । डुबानमा परेका परिवारको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए ।

विस्थापित परिवारलाई विद्यालय तथा हुलाकी सडकमा राखिएको छ । यस्तै कैलालीमै बाढीमा परी बेपत्ता भएका तीन जनाको खोजी जारी छ ।

बाढीमा बगेका कैलालीका तीनजनाको सकुशल उद्धार गरिएको हो भने तीन जना अझै बेपत्ता छन।

कैलालीको भजनी नगरपालिका–८ खौरपुरका ४० वर्षीय ईश्वर शाह, ३३ वर्षीय चक्र विक र जनकपुरका ११ वर्षीय स्केल चौधरी बेपत्ता भएको ईलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरिक्षक जनक धामीले बताए ।

पथरैया र कान्द्रा नदीको बाढी गाउँमा पसेपछि उनीहरू बगेको उनकाे भनाई छ । बुधबार दिउँसो खोलामा बगेर बेपत्ता भएका भजनी–८ कै ४० वर्षीय बलराम चौधरीको उद्धार गरिएको छ ।

त्यस्तै, सोही वडाकी बिक्की शाही र हेमन्त शाहीलाई पनि प्रहरी र सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ ।