खतरनाक गतिविधि गरे जवाफ फर्काउने बाइडेनको चेतावनी

एजेन्सी – अमेरिकी राष्ट्रपति जा बाइडेनले ‘खतरनाक गतिविधि’ मा संलग्न रहे रुसलाई जवाफ फर्काइने चेतावनी दिएका छन् ।बुधबार आरएएफ मिल्डनहल एयरबेसमा अमेरिकी सैनिक र सैनिक परिवारलाई सम्बोधन गर्दै बाइडेनले पुटिनलाई स्पष्ट सन्देश दिने बताए ।

‘हामीले रुससँग द्वन्द्व चाहेका छैनौं,’ उनले भने,‘हामी स्थिर सम्बन्ध चाहन्छौं । तर यदी रुसी सरकार खतरनाक गतिविधिमा संलग्न भएमा अमेरिकाले अर्थपूर्ण ढंगले जवाफ फर्काउनेछ भन्नेमा म स्पष्ट छु,’ बाइडेनले भने । युरोप भ्रमणका क्रममा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि भेट्ने कार्यक्रम छ ।

बेलायत यात्रा सुरु
उनले बेलायतबाट युरोप भ्रमण सुरु गरेका छन् । आफ्नो मनसाय अमेरिकी सहयोगी बेलायतसँग सुदृढ सम्बन्ध बनाउनु रहेको पनि उनले स्पष्ट पारेका छन् । ट्रम्प कार्यकालमा यो सम्बन्ध केही बिग्रिएको थियो ।
भ्रमणका क्रममा बेलायती प्रधानमन्त्री बोरिस जोनसोनलाई भेटेर नयाँ ‘एटलान्टिक चार्टर’ मा सहमति खोज्ने प्रयास बाइडेनले गर्नेछन् । सुरक्षा र जलवायु परिवर्तनसहितका चुनौतीहरुमा केन्द्रीत रहेर तयार गरिएको यो सहमति विस्टन चर्चिल र फ्रयाङलिन रुसभेल्टबीच १९४१ मा भएको सहमतिको नयाँ स्वरुपजस्तै हुने बेलायती सञ्चारमाध्यम बीबीसीले जनाएको छ ।

कोरोनाको महामारीले सिर्जना गरेको दबाब र ट्रम्प कार्यकालमा बिग्रिएको सम्बन्धपछि दुई देशहरुले सम्बन्धलाई महत्वपूर्ण रुपमा बढाउन चाहेको बताइएको छ । आफ्नो आठ दिने युरोप भ्रमणका क्रममा बाइडेनले महारानी एलिजावेथलाई विन्डसोर क्यासलमा भेट्नेछन्, उनी जी ७ नेताहरुको बैठक र नाटो सम्मेलनमा सहभागी हुनेछन् ।

यही भ्रमणको अन्त्यमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग स्विचरल्यान्डको जेनेभामा भेट गर्नेछन् । हतियार नियन्त्रण, जलवायु सम्झौता, युक्रेनमा रुसी सैनिकको हस्तक्षेप, रुसको साइबर ह्याकिङ गतिविधि, रुसका विपक्षी नेता एलेक्साई नाभाल्नीलाई हेल हालिएकोलगायत विभिन्न विषयमा बाइडेनले रुसी राष्ट्रपतिसँग पूर्ण छलफल गर्ने ह्वाइटहाउसले जनाएको छ ।