नेपाल जोर्डनसँग ३-० गोल अन्तरले पराजित ,एक गल्तीले नतिजा फरक – अलमुताइरी

एजेन्सी – फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल जोर्डनसँग पराजित भएको छ ।

कुवेतमा सोमबार भएको खेलमा नेपाल जोर्डनसँग ३-० गोल अन्तरले पराजित भएको हो ।

जोर्डनलाई जित दिलाउन बाहा फाइजल सिफले दुई गोल गरे । यस्तै याजन अल अरबको नाममा एक गोल रह्यो ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा खेलको २४ औं मिनेटमा बाहा फाइजलले पेनाल्टीमा गोल गर्दै जोर्डनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

नेपालका रोहित चन्दले जोर्डनका मौसा मोहमद सुलेमानलाई पेनाल्टी क्षेत्रमा लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो । जसमा बाहाले सहजै गोल गरे ।

खेलको ४९ औं मिनेटमा बाहा फाइजलले व्यक्तिगत दोस्रो गोल गर्दै जोर्डनलाई २-० को अग्रता दिलाए । उनले फ्रिकिकमा उत्कृष्ट गोल गरेका थिए ।

त्यसपछि खेलको ६७ औं मिनेटमा डिफेन्डर याजनले हेडरबाट गोल गर्दै जोर्डनलाई ३-० को जित दिलाए ।

यससँगै जोर्डनले नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न सफल भएको छ । छनोट अन्तर्गत नै गत वर्षको अक्टोबरमा घरेलु मैदानमा जोर्डनले नेपाललाई ३-० ले नै हराएको थियो ।

जितसँगै समूह बी को जोर्डनले ६ खेलमा १३ अंक जोडेको छ । जोर्डन अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

नेपालले ७ खेलमा ६ अंक जोडेको छ । नेपाल चौंथो स्थानमा रहेको छ ।

अब नेपालले समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग खेल्नेछ । नेपाल र अष्ट्रेलियाबीचको खेल शुक्रबार हुनेछ ।

नेपालको विश्वकपमा छनोट हुने आशा समाप्त भईसकेको छ । तर, नेपालको एसियन कप छनोटको सम्भावना भने रहेको छ ।

नेपाललाई एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउन अष्ट्रेलियासँगको अन्तिम खेल जित्नै पर्ने हुन्छ । जितले मात्र पुग्ने छैन । अन्य समूहको नतिजाको प्रतीक्षा गर्नुपर्छ ।

अन्तिम खेलमा पराजित भएमा नेपाललाई प्लेअफको बाटोबाट एसियन कप छनोटको तेस्रो चरणमा पुग्ने बाटो समेत रहेको छ ।

एक गल्तीले नतिजा फरक – अलमुताइरी

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पहिलो हाफमा गरेको एक गल्तीले जोर्डनविरुद्धको खेलको नतिजा फरक आएको बताएका छन् ।

विश्वकप छनोट अन्तर्गत जोर्डनविरुद्धको खेलपछि प्रशिक्षक अलमुताइरीले पहिलो हाफमा गरेको एक मात्र गल्तीले नतिजा फरक परेको बताएका हुन् ।

विश्वकप छनोट अन्तर्गत सोमबार भएको जोर्डनविरुद्धको खेलमा नेपाल ३–० ले पराजित बनेको थियो । पहिलो लेगमा समेत ३–० ले पराजित नेपालले दोस्रो लेगमा समेत सोही नतिजा आत्मसाथ गरेको हो ।

‘हामीले राम्रो खेल्यौ । पहिलो हाफमा एउटा मात्र गल्ती गर्यौ । त्यो गल्ती नगरेको भए सायद खेलको नतिजा फरक हुने थियो होला । हामीले गरेको गाल्ती जोर्डनका लागि उपहार जस्तै भयो ।’ प्रशिक्षक अलमुताइरीले भने ।

‘पहिलो हाफमा गरेको एउटा गल्तीका कारण जोर्डनले विश्राम लिएर खेल्न पायो ।’ उनले भने ।

खेलको २३ औं मिनेटमा जोर्डनले पेनाल्टी पाएको थियो । पेनाल्टी क्षेत्रको दायाँ भागमा डिफेन्डर रोहित चन्दले जोर्डनका खेलाडीलाई लडाएपछि रेफ्रीले पेनाल्टीको इसारा गरेका थिए । सोही पेनाल्टीमा गोल गर्दै जोर्डनले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो ।

प्रशिक्षक अलमुलाइरीले हारको सम्पूर्ण जिम्मेवारी आफुले लिने बताएका छन् । उनले नेपाली समर्थकलाई हारको दोष खेलाडीलाई नदिन आग्रह गरेका छन् ।

उनले यस खेलमा राम्रो खेलेको दाबी गर्दै आउने खेलमा अझ सुधारिएको प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

प्रशिक्षक अलमुताइरीले अष्ट्रेलियाविरुद्धको खेलमा पनि नेपालले सन्तुलित खेल खेल्ने बताए ।

कुवेतले रक्षात्मक खेल खेल्दा पनि अष्ट्रेलियासँग ३–० को हार बेहोरेकाले भन्दै उनले आफुले त्यस्तो हार नचाहने बताए ।

#खेलपाटि