बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार निजी कार्यक्रमबीच विवाह गरेका छन् । बेलायती अखबार सनले शनिबार प्रकाशित गरेको समाचार अनुसार उनले प्रेमिका क्यारी साइमन्ड्ससँग विवाह गरेका हुन् ।
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र पत्नी क्यारी साइमन्ड्स । तस्बिर स् रोयटर्स
उनीहरु लामो समयदेखि प्रेममा रहेकाले अहिले विवाह बन्धनमा बाँधिएको जनाइएको छ । उनीहरुले वेस्टमिनिष्टर गिर्जाघरमा अति थोरै व्यक्तिलाई आमन्त्रण गरी विवाह गरेका हुन् । वैवाहिक कार्यक्रममा ३० जना मात्रै सहभागी थिए ।
बेलायतमा कोरोनाभाइरसको महामारीका कारण यस्ता समारोहमा बढीमा ३० जना मात्रै सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।
जोन्सन र साइमन्ड्सबाट यसअघि नै सन् २०२० को अप्रिल २९ मा एक सन्तान जन्मिसकेका छन् । बाबुआमाको विवाह समारोहमा छोरा विल्फ्रेडलाई पनि सहभागी गराइएको थियो ।
उनीरुको गत सन् २०१९ देखि नै प्रेम चलिरहेको समाचार यसअघि पनि प्रकाशित भएको थियो । प्रधानमन्त्री जोन्सन अहिले ५६ वर्षका छन् भने उनकी नयाँ श्रीमती ३३ वर्षकी भएको जनाइएको छ । जोन्सनको यो तेस्रो विवाह हो भने साइमन्ड्सको पहिलो ।