वीरेन्द्रनगर–नेपाल चिकित्सक संघ कर्णाली प्रदेश शाखा सुर्खेतले बाँकेको भेरी अस्पताल नेपालगञ्जमा भएको घटनाप्रति विरोध जनाएको छ ।
संघले शुक्रबार विज्ञप्ति जारी गर्दै भेरी अस्पतालका स्वास्थ्यकर्मीहरुमाथि अमानवीय तत्वले कानुनी राज्यको धज्जी उडाउँदै गरेको कुटपिटको घटनाले मर्माहत भएको उल्लेख गरेको छ ।
नेपाल चिकित्सक संघ कर्णाली प्रदेशका अध्यक्ष डा. नवराज केसी र महासचिव केएन पौडेलद्वारा जारी विज्ञप्तीमा घटनाको निष्पक्ष छानविन गरी हदैसम्मको कारवाही गर्न माग गरिएको छ ।
‘कोरोना महामारीमा स्वास्थ्यकर्मीहरुले आफ्नो ज्यानको प्रवाह नगरी स्वास्थ्य सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मीहरुले सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अपराधको मुद्दा चलाएर हदैसम्मको कारवाहीको माग गर्दर्छौ ।’