काठमाडौं- नेपाली कांग्रेसले कोरोना रोकथाम तथा नियन्त्रणमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नलागेर बरू जनतामा आतंक फैलाउने खालका काम गरिरहेको बताएको छ।
दुई दिनमा साताका लागि खाद्यान्नलगायत सामग्री किन्न भन्नेजस्ता जनतामा आतंक फैलाउने काम सरकारले गरेको कांग्रेसको आरोप छ।
‘दुई दिनभित्र किनमेल गर्नु भन्नेजस्ता कुरा गरेर यो सरकार जनतामा आतंक फैलाउन खोज्दैछ,’ सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बसेको पदाधिकारी बैठकपछि सहमहामन्त्री प्रकाशशरण महतले भने।
सरकारले पिसिआर परीक्षण नगर्ने, संक्रमितको उपचार नगर्ने तर जनतामा आतंक फैलाउने काम गरिरहेको भन्दै कांग्रेस बैठकले निन्दासमेत गरेको महत बताउँछन्।
सभापति देउवाले केही दिनअगाडि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै १५ बुँदे ध्यानाकर्षण पत्र बुझाए पनि त्यसअनुसार सरकार अगाडि नबढेको उनले बताए।
‘संक्रमितलाई उपचार गर्नेभन्दा पनि कोरोनाको आडमा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थसिद्धी गर्ने कोसिस सरकारबाट भइरहेको छ यसमा हामीले भर्त्सना गरेका छौं,’ उनले भने।
कांग्रेसले जनताका आवश्यकता र पीरमर्का बुझ्न पनि सरकारलाई आग्रह गरेको छ। दैनिक ज्यालादारीदेखि साना लगानीका उद्यमहरू संकटमा परेकोले हातमुख जोर्न सरकारले सहयोग गर्नुपर्ने कांग्रेसको भनाइ छ।
‘यस्ता समस्या समाधान गर्न राहत दिन सरकार केन्द्रीत हुनुपर्नेमा जनतामा आतंकको सिर्जना गरेर जनअधिकारलाई निषेध गर्ने र सरकारले अवैधानिक बाटो अख्तियार गरेको छ त्यसलाई मजबुद बनाउने गरी अगाडि सरेको छ यसको हामीले निन्दा गरेका छौं,’ उनले भने।
उनले कोरोना महामारी भएकोले पार्टी र जनता सडकमा नउत्रेको पनि बताए। सरकारको सिफारिसमा राष्ट्रपतिले गत शुक्रबार प्रतिनिधि सभा विघटन गरेकोमा कांग्रेसलगायत ५ दलका सांसद अदालत गएका थिए।
कोरोनाको आडमा आफ्नो सत्ता बचाउने खेलमा प्रधानमन्त्री लागेको पनि कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष छ।
‘जनतामा आतंक फैलाउने काममा मात्रै सरकार केन्द्रीत छ। कोरोना रोकथाममा सार्थक ढंगले लागेको छैन। कोरोना आडमा आफ्नो सत्ता बचाउन आतंक फैलाउन सरकार केन्द्रीत छ,’ उनले भने, ‘यसबारे हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। सरकार कोरोना रोकथाममा केन्द्रीत होस्। जीविकोपार्जनमा समस्या भएकाहरूलाई राहत दिओस्।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबारको बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा थप गर्ने र २ दिनमा खाद्यान्नलगायत सामग्री खरिद गर्न समय दिएका थिए।
शनिबारदेखि निषेधाज्ञामा कडाइ गरिने, तरकारी र खाद्यान्न पसलसमेत खोल्न नदिने प्रजिअहरूको उक्त निर्णयमा कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।