राष्ट्रिय फुटबल टोली इराक प्रस्थान

काठमाडौं -इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिम त्यसतर्फ प्रस्थान गरेको छ।

२३ सदस्यीय खेलाडीसहित ३५ सदस्यीय नेपाली फुटबल टिम गएराति इराक प्रस्थान गरेको हो। नेपाली टिम कतार एयरवेजबाट इराक प्रस्थान गरेका हो। नेपालले जेठ १५ मा बसरा अन्तराष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ।

मैत्रीपूर्ण र विश्वकप छनोटका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले मंगलबार २३ सदस्सीय नेपाली टिमको घोषणा गरेका थिए। नेपाली टिमका नियमित सदस्य भरत खवास, रंजित धिमालसहित अमित तामाङ, सेसेहाङ आङदेम्बे, रबि पासवान, निशान खड्का, विवेक बस्नेत, नितिन थापा र दर्शन गुरुङ टिमबाट बाहिरिएका छन्।

सुरज जिउ ठकुरी, कमल थापा, गौतम श्रेष्ठ, आयुष घलान र मनिष डाँगी पहिलो पटक राष्ट्रिय टिममा परेका छन्।

नेपालले इराकसँगको मैत्रिपूर्ण खेलपछि फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी तीन खेल्नेछ । छनोटमा अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ।

कुवेतमा हुने छनोटको बाँकी खेल अन्तर्गत नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ। नेपाली टिम जुन १२ मा स्वदेश फर्किने छन्।