सल्यान – कपुरकोट गाउँपालिकाका किसानले सामूहिक रुपमा व्यावसायिक बंगुरपालन सुरु गरेका छन्। मासु र पाठापाठीको माग बढेपछि गर्पा गाउँका२८ जना किसानले जनजागरण कृषि तथा पशुपालन समूह गठन गरी बंगुरपालन गरेका हुन्।
उनीहरुको फार्ममा अहिले २०० वटा माउ बंगुर रहेको छ। आगामी वर्ष ५०० वटा माउ बंगुर पु¥याउने लक्ष्य रहेको समूहका अध्यक्ष शेरबहादुर पुनले बताए। उनले साना पाँच र ठूला १३ वटा फर्म निर्माण गरिएको बताए।
कपुरकोट गाउँपालिका कृषि पकेट क्षेत्रका रुपमा चिनिन्छ। यस क्षेत्रबाट वार्षिक करोडौं रुपैयाँको तरकारी निकासी हुने गर्दछ। वडा नम्बर २ र ३ लाई बंगुरपालन पकेट क्षेत्र बनाउने अघि बढेको पुनले बताए।
व्यावसायिक तरकारी खेती गर्दै आएका किसानले पहिले घरघरमा थोरै बंगुरपालन गर्दथे। पछिल्लो समय व्यावसायिक रुपमा नै बंगुरपालन गर्न थालेको कपुरकोट गाउँपाकिला वडा नम्बर २ का वडाध्यक्ष मानबहादुर रानाले बताए।
बंगुर ब्लक क्षेत्र निर्माण गर्न करिब ३० लाख रुपैयाँ सहयोग गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका कार्यालय प्रमुख कपिलप्रसाद उपाध्यायले बताए। कार्यालयले उन्नत जातको भाले बंगुर, खोर, दाना मेसिन आदिमा सहयोग गरेको उनको भनाइ छ। मासुजन्य उत्पादन कार्यक्रमअन्तर्गत कार्यालयको वार्षिक कार्यक्रमअनुसार बंगुर ब्लक कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ।
कपुरकोट क्षेत्रमा उत्पादन हुदै आएका बंगुरका पाठा पाठी पोखरा दाङ, वुटवल, रोल्पा लगायतका ठाउँवाट माग हुने गरेको छ । थोरै लगानी र परिश्रमवाट पनि मनग्य आम्दानी लिन सकिने भएपछि किसानहरु व्यवसायिक बंगुरपालनमा लागेको कार्यालय प्रमुख उपाध्यायले बताए ।
#थाहाखबर