कर्णाली प्रदेश अस्पतालले भन्यो,’अक्सिजन छैन, बिरामी भर्ना गर्न सक्दैनौं’

बिरामी भन्छन्, उपचार नगर्ने भए अस्पताल बन्द गर !

सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतले अक्सिजनको अभाव भएको भन्दै नयाँ विरामी भर्ना लिन नसकिने सूचना सार्वजनिक गरेपछि बिरामी आक्रोशित भएका छन् ।

शुक्रबार अस्पतालले नै नयाँ बिरामी भर्ना लिन नसकिने जनाएपछि हाल कोरोना संक्रमण तथा अन्य रोगले थला परेका बिरामीहरु आक्रोशित बनेका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानपछि कर्णाली प्रदेशकै भरपर्दो मानिने प्रदेश अस्पतालले नै कोरोना माहामारीका बेला नयाँ बिरामी भर्ना लिन नसकिने भनेपछि आफ्नो आत्मबल घटेको संक्रमित बिरामीको भनाइ छ ।

कर्णाली प्रदेश सरकारको मातहतमा रहेको प्रदेश अस्पतालले थप कोरोना संक्रमित बिरामीलाई भर्ना नलिने सार्वजनिक सूचना जारी गरेर हात खडा गरेको हो । अस्पतालका निर्देशक डा. डम्बर खड्काद्वारा जारी सूचनामा नेपालगञ्जबाट आउने अक्सिजन अस्पतालमा आपूर्ति हुन नसकेका कारण कोभिडका विरामीलाई भर्ना गर्न नसकिने उल्लेख छ । यस्तो माहामारीको समयमा बिरामीको आत्मबल बढाउने गरी सेवामा खटिने बेला उल्टै भर्ना नलिने सूचनाले नागरिकहरू त्रसित बनेका हुन् ।

प्रदेश सरकारबाट हरेक वर्ष पर्याप्त बजेट पाउँदा पाउँदै पनि बिरामी भर्ना नलिने सूचना जारी गर्नु उचित नभएको वीरेन्द्रनगर नगरपालिका–४ कालागाउँका कोभिड बिरामी राजेश आचार्यको भनाइ छ । ‘प्रदेश सरकारले करोडौं बजेट दिइरहेको छ । कर्मचारी पनि भर्ना गरेकै छ । अहिले अक्सिजन नपाएको भन्ने बहानामा बिरामी नराख्ने भनेपछि हामीमा थप त्रास बढेको छ,’ उनले भने, ‘सरकारी अस्पतालले नै कोभिड विरामीलाई नराख्ने भन्न पाउँछ कि पाउँदैन ? बिरामीको उपचार नगर्ने भए अस्पताल नै बन्द गरे भैगो नी ? ।’

कर्णालीमा अन्यत्र यतिको सूविधासम्पन्न अस्पताल छैनन् । यस्तो अवस्थामा प्रदेश अस्पतालले नै यस्तो भन्दा यहाँका नागरिक कहाँ गएर उपचार गर्ने ? भन्दै स्थानीयले सूचनाप्रति असन्तुष्टि जनाएका हुन् ।’ यता कर्णाली सरकारको ध्यान सरकार जोगाउने र मन्त्री बनाउनेमै भएको भन्दै नागरिकले ध्यानाकर्षण जनाएका छन् । कोरोना माहामारीको बेला बिरामी अक्सिजन नपाएर छटपटाइरहँदा प्रदेश सरकार रमिते बनेको कर्णालीवासीको आरोप छ ।

कर्णालीमा दिनप्रतिदिन कोरोना संक्रमित बिरामी बढ्दै गएका छन् । शुक्रबारसम्म कर्णालीमा सक्रिय संक्रमितको संख्या ५ हजार २५६ जना छन् । शुक्रबार मात्रै प्रदेशका ४०१ जनामा कोरोना पुष्टी भएको थियो । यीमध्य हाल सबैभन्दा कोरोना संक्रमित हुनेमा सुर्खेतका धेरै छन् । शुक्रबार मात्रै ५ जना कोरोना संक्रमितको मृत्य भएको थियो । कर्णालीमा हालसम्म १ सय ३४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।