‘अनलाईनमा सहभागी हुन नसकेका विद्यार्थीका लागि अतिरिक्त कक्षाको व्यवस्था गछौं’-प्रिन्सिपल खड्का

सुर्खेत- सुर्खेत होराइजन एकेडेमीका प्रिन्सिपल घनश्याम खड्काले विद्यालयलाई विज्ञान, व्यवस्थापन तथा कानून संकाय अध्ययनका लागि महत्वपूर्ण पाठशालाका रुपमा स्थापना गर्ने बताएका छन् ।

तस्बिर : सुर्खेत होराइजन एकेडेमीका प्रिन्सिपल घनश्याम खड्का

मंगलबार सत्यपत्रिका अनलाइनसँगको कुराकानीमा खड्काले समयानुकुल परिवर्तनलाई मध्यनजर गर्दै विद्यालयको आगामी योजना र कार्यदिशा तयार पारिएको बताए ।
‘होराइजन एकेडेमी शैक्षिक क्षेत्रमा कर्णाली प्रदेशको ईतिहास र परिचयको रुपमा स्थापित भैसकेको छ,’ प्रिन्सिपल खड्काले भने, ‘अब होराईजनका विद्यार्थीलाई राष्ट्रि«य स्तरका कलेजमा पढ्ने विद्यार्थीसँग प्रतिस्पर्धा गराउने उद्देश्यका साथ हामी लागीरहेका छौं ।’
यसका लागि एक बर्ष यता काठमाडौंमा रहेको सेन्जेवियर्स कलेजसँग सहकार्य गरिएको उनले बताए । सहकार्य अनुसार बर्षमा १५ दिन दुई कलेबीच विद्यार्थी साटासाट गरी अध्यापन गराउने गरिन्छ । राम्रो अध्ययनका लागि काठमाडौं जाने प्रचलन रहेकाले यसको अन्त्य गर्ने गरी होराईजन एकेडेमी लागेको खड्काले बताए । दक्ष जनशक्ति उत्पादनमा समेत विद्यालयको प्रयास जारी रहेको उनले बताए ।
खड्काले आफू प्रिन्सिपल भएर आएको छोटो समयमै होराईजन एकेडेमीको शैक्षिक सुधार गर्न सफल भएको दावी समेत गरे । कोभिड–१९ को जोखिम नियन्त्रणका लागि गरिएको ‘लकडाउन’ का कारण योजना अनुसार काम गर्न नपाएको उनले बताए । ‘लकडाउन अवधिमा विद्यालय बन्द हुँदा पढाइ रोकिएको छ, सुर्खेत होराइजन एकेडेमीले निशुल्क अनलाईन कक्षा सञ्चालन गरिरहेको छ ।’ प्रिन्सिपल खड्काले भने ।
उनका अनुसार ४० प्रतिशत विद्यार्थी अझै पनि ईन्टरनेटको पहुँचमा नभएकाले अनलाईन कक्षाले सबैलाई समावेश गर्न नसकेको बताए । विद्यालय सञ्चालन भएपछि अनलाईन कक्षा लिन छुटेका विद्यार्थीहरुका लागि अतिरिक्त कक्षा सञ्चालन गर्ने योजना होराईजन एकेडेमीको रहेको उनले बताए ।
२०५८ सालमा स्थापना भएको विद्यालयमा हाल करिब ८ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयको अवस्था सुधार हुनुमा अभिभावकको महत्वपूर्ण भूमिका रहेको खड्काको भनाई छ । होराइजन एकेडेमीले विद्यार्थीलाई कितावी ज्ञान मात्र नभई अन्य कलात्मक ज्ञान पनि प्रदान गर्ने गरेको उनले बताए ।
विद्यालयमा पुस्तकालय, कम्प्यूटर तथा विज्ञान प्रयोगशाला लगायतका आधुनिक स्रोतसाधनको कमी नरहेको विद्यालयका संयोजक मनोज एमसीले बताए । चम्किलो भवन र विद्यार्थीको संख्याले मात्र शैक्षिक गुणस्तर राम्रो नहुने भएकाले होराईजनले विद्यार्थीहरुका लागि सिकाई अनुकुल हुने वातावरण तयार पारेको उनले बताए ।
‘सुर्खेत होराइजनलाई हामीले शैक्षिक हब बनाउने योजना लिएका छौं, तर विद्यार्थिको सख्या धेरै भएर मात्र हुँदैन,’ प्रिन्सिपल खड्काले भने, ‘सुर्खेतमा प्रयोगात्मकका लागि चलन भन्दा तीन गुणा अरु प्रयोगात्मक कक्षा होराईजनले सञ्चालन गर्ने गरेको छ ।’