राष्ट्रको मिसन कोभिड बनाउनु पर्छ : पूर्वमन्त्री योगेश भट्टराई

काठमाडौं – पूर्वमन्त्री तथा नेकपा एमालेका नेता योगेश भट्टराईले सबै विमतिलाई थाति राखेर राष्ट्रको मिसन कोभिड बनाउनु पर्ने बताउनुभएको छ ।

भट्टटराईले भन्नुभएको छ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ‘७२ सालको महाभूकम्पमा झै यो वर्ष पनि मिसन कोभिड गरेर सबै दल राष्ट्रिय सहमतिका साथ ठोस योजना बनाएर लाग्नु पर्दछ।’

सरकारलाई ४ बुँदे ध्यानाकर्षण गराउँदै भट्टराईले अन्य देशसँग सहयोग माग्ने, कोभिडविरुद्धको लडाईमा सबै दल राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्ने,सम्पूर्ण जनशक्ति कोभिडविरुद्धको लडाईमा केन्द्रित गर्ने र कोभिडविरुद्ध लडेको जनशक्ति बाहेक राज्यबाट लिने सबैको पारिश्रमिक र सुविधा हाललाई स्थगित गर्नुपर्ने कुरा लेख्नु भएको छ ।

भूकम्पपछि १६ बुँदे सहमतिसहित दलहरू एक भएजस्तै ठोस योजनासहित अघि बढ्नुपर्ने भट्टराईले बताउनुभएको छ ।

उहाँले लेख्नुभएको छ ।

आज विश्व नै कोभिडबाट आक्रान्त छ। हरेक दिन बिरामीहरुको अकाल मृत्यु र उनीहरुका परिवारको चित्कारका समाचारले सरकार र भाग्यले बाँचेकाहरु लाचार बनिरहेको अवस्था छ।

हाम्रो देश अझ संकट तिर जाँदै छ। विगतदेखि कै सरकारहरुले सर्वजनिक स्वास्थ्यलाई राज्यको प्रमुख दायित्वका रुपमा लिएर प्रयाप्त काम नगरेका कारण आज यो बिस्फोट बन्न पुगेको छ। बिरामीका लागि न्युनतम अक्सिजन र बेड दिन नसक्नुले हामी सबै लज्जित छौ। यस्तो संवेदनशील अवस्थामा भैरहेका अस्वस्थ राजनीतिक खेलहरुले सरकार, राज्य यन्त्र तथा राजनीतिक नेतृत्वप्रतिको असन्तुष्टी बढदै गएर ब्यवस्था नै धरापमा पर्नसक्ने संभावनाप्रति सबै सचेत हुनुपर्दछ।

निम्न बिषयमा सरकारको ध्यानाकर्षण गर्दछु

१। अहिले तुलनात्मक रुपमा चिनमा कोभिडको असर कम भएको देखिन्छ। तसर्थ अघिल्लो समयमा इटली लगायतका युरोपेली मुलुकमा चिनले स्वास्थ्य सामाग्री र जनशक्ति सहित जसरी सहयोग गरेको थियो त्यसरिनै अहिले नेपाललाई सहयोग गर्न नेपाल सरकारले चिन सरकारलाई अनुरोध गर्नु पर्दछ। र भारत लगायत अन्य देशका सरकारलाई पनि अनुरोध गरी सहयोग तत्काल ल्याउनु पर्दछ।

२। २०७२ को महा भुकम्प पछी जसरी राजनीतिक बिमतीहरुलाई थाती राखेर सरकार र राजनीतिक नेतृत्वले सहमतिमा काम गर्‍यो, एमाले, माओवादी र नेकाका बिचमा १६ बुँदे सहमति गरी संविधान निर्माण गर्ने जोखिमपूर्ण काम सम्पन्न भयो त्यसरी नै कोभिड बिरुद्धको लडाईँमा फेरी एक पटक राष्ट्रिय सहमतिका साथ ठोस योजनामा सबैले काम गर्नु पर्दछ। राष्ट्रको मिसन कोभिड १९ लाई बनाउनु पर्दछ।

३। सम्पूर्ण जनशक्तिलाई कोभिड बिरुद्धको लडाईंमा केन्द्रित गर्ने र छिटो प्रकृयाबाट थप जनशक्ति भर्ना गर्ने।

४। आर्थिक अभाव हुन नदिने। अन्य शिर्षकका बजेट पनि कोभिडमा केन्द्रित गर्ने। कोभिड बिरुद्धको लडाईँमा खटेको जनशक्ति बाहेक राज्यबाट पारिश्रमिक लिने अरु सबैको सुबिधा हाललाई स्थगित राख्ने।