गठबन्धन सरकार बनाउन यस्ता छन् दुई विकल्प

२०७५ जेठमा तत्कालीन संघीय समाजवादी फोरम सरकारमा सहभागी भएपछि ओली सरकार दुई तिहाइ बहुमतको भयो । झन्डै ३८ महिनापछि संसद्मा आफ्नो शक्ति जाँच्न पुगेका ओलीले जम्मा ९३ मत पाए जुन कुल सांसद संख्याको करिब ३५ प्रतिशत मात्रै हो ।
प्रतिनिधिसभामा सोमबार देखिएको अंकगणितका आधारमा अहिलेकै अवस्थामा गठबन्धन सरकार बन्ने देखिँदैन । मतदानमा प्रधानमन्त्री केपी ओलीको विपक्षमा १ सय २४ देखिए । सरकार बनाउन १ सय ३६ जना आवश्यक पर्छ । बाँकी संख्याका लागि यो समूहसित दुइटा विकल्प छ, तटस्थ बसेको जसपाको महन्थ ठाकुर समूहलाई मनाउने वा एमालेको नेपाल समूहले भूमिका खेल्ने ।

यो समूहको पहिलो प्राथमिकता ठाकुर नेतृत्वमा रहेका १५ सांसदलाई आफूतिर ल्याउने छ । ठाकुर समूह सहमत भए गठबन्धन सरकार सजिलै बन्छ । तर उनीहरू गठबन्धनमा सामेल हुने र नहुने सम्भावना उत्ति नै छ । कांग्रेस नेता बालकृष्ण खाँणले संसद्मा उपस्थित बहुमतले ओलीलाई अस्वीकृत गरेकाले अर्को बहुमतको सरकार बनाउन आफूहरूले प्रयास गर्ने बताए ।

यो प्रयासमा दलहरू सफल भएनन् भने उनीहरूले सोमबार संसद्मा उपस्थित नभएका एमालेका २८ सांसदहरूको सहयोग लिन कोसिस गर्नेछन् । २८ मध्ये २० जना प्रत्यक्ष निर्वाचित सांसद छन् । यी २० जना अझै पनि गठबन्धन सरकारका लागि निर्णायक बन्न सक्छन् । हुन त पार्टीको निर्देशन पालना नगरेको भनेर प्रधानमन्त्री एवम् एमाले संसदीय दलका नेता ओलीले उनीहरूलाई कारबाही गर्न सक्छन् । तर कारबाही गर्दा एमालेकै सांसद संख्या घट्ने भएकाले गठबन्धनलाई सरकार बनाउन सहयोग पुग्नेछ । कारबाही गरेनन् भने नेपाल समूहका आवश्यक सांसदले बहुमतको सरकार बनाउने प्रस्तावमा हस्ताक्षर गर्न सक्छन् ।

त्यसैले यो समूहले संविधानको धारा ७६(२) अनुसार सरकार बनाउन अघि सर्दा जसपाको ठाकुर पक्ष र एमालेको नेपाल पक्षलाई आफ्नो सारथिका रूपमा हेरेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले विश्वासको मत लिने प्रस्तावको मतदानमा सांसदहरूलाई स्वतन्त्र छाडिएको भए पनि अब सरकार बनाउने विषयमा छलफल गरेर सहमति जुटाउने बताए । ‘संसद्ले अस्वीकृत गरेको व्यक्तिलाई नियुक्ति गर्नुभन्दा अगाडि प्रक्रिया थाल्दा राष्ट्रपति संविधानअनुरूप अघि बढ्नुपर्छ,’ उनले भने, ‘हामी पार्टीका सबै पक्षसँग छलफल गरेर सहमति जुटाउँछौं, नयाँ सरकार बनाउन पहल गर्छौं ।’

उसो त यही धाराअनुसार प्रधानमन्त्री ओलीले पनि तटस्थ रहेका सांसदलाई साथमा लिएर सरकार बनाउन पहल गर्न सक्छन् तर उनको ध्यान त्यता छैन ।

#कान्तिपुर दैनिक