कोरोना संक्रमित थपिए लगत्तै हङकङमा बैंक बन्द

हङकङमा कोरोना संक्रमितको नयाँ केस देखिए लगत्तै त्यहाँका बैंकहरु बन्द गरिएका छन् । राउटर्स न्युज एजेन्सीले जनाए अनुसार एसियाली वित्तिय हबमा कोरोना भाइरसका नयाँ केस देखिएसँगै भिडभीड नहोस् र कोरोना संक्रमणबाट बच्नका लागि एचएसबीसी, स्टाण्डर्ड चार्टड तथा हङकङका अन्य बैंकका शाखाले आफ्नो कामको समय कटौती गर्दै बैंकहरु बन्द गरेको हो । पछिल्लो २४ घण्टामा त्यहाँ कोरोनाका थप नयाँ १ सय केसहरु दर्ता भएका छन् । जनवरीको अन्त्यबाट शुरु भएको महामारीको अवधिदेखि हालसम्म २४ घण्टाको अन्तरालमा हङकङमा देखिएको यो सबभन्दा धेरै संक्रमित संख्या हो । हालसम्म त्यहाँ २ हजारको हाराहारीमा मात्रै संक्रमित संख्या रहेका छन् भने संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२ रहेको छ । बढ्दैछ दक्षिण कोरियामा पनि संक्रमितको संख्या दक्षिण कोरियामा पनि कोरोनाका नयाँ केशहरु धमाधम देखिन थालेका छन् । सोमबार गरिएको रिपोर्ट अनुसार, त्यहाँ नयाँ कोरोना संक्रमितको संख्या दुई अंकमा देखिन थालेको हो । यद्यपि देखिएका नयाँ केसहरु भने ३० भन्दा तल अंकमा नै रहेको पाइएको छ । कोरिया सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले जनाए अनुसार, त्यहाँ थप २६ नयाँ केसहरु थपिएका छन् । तीमध्ये २२ जना संक्रमित बाहिरबाट आएका हुन् भने ४ जना स्थानिय नै रहेका छन् । हालसम्म त्यहाँ कुल संक्रमित संख्या १३ हजार ७ सय ४५ रहेको छ भने सोमबारसम्म संक्रमित मृतकको संख्या २ सय ९६ पुगेको छ । -एजेन्सी