दाङमा कोरोनाका बिरामीलाई उपचार गर्न अस्पतालमा बेड अभाव यथावत छ। कोरोना विशेष अस्पतालमा बिरामीको चाप बढेपछि अस्पताल बाहिर बरन्डामा उपचार भइरहेको छ। अस्पतालको बरण्डामा राखेर उपचार गर्न थालिएको अस्पताल प्रशासनले जनाएको छ।
प्रदेशस्तरीय कोरोना अस्पताल ‘बेलझुण्डी कोरोना विशेष अस्पताल ‘हाउस फूल’ भए पनि उपचारको अर्को व्यवस्था भने जिल्लामा हुन सकेको छैन। यही अस्पताल पनि पूर्णत सञ्चालन हुन सकेको छैन। पटकपटक क्षमता बढाउने निर्णय भए पनि जनशक्तिको व्यवस्थापन हुन नसक्दा नागरिकको उपचारमा लापरवाही देखिएको हो। अहिले अस्पताल ४२ शैय्यामा चलिरहेको छ।
अस्पताल कोरोना संक्रमित बिरामीले भरिँदा अस्पातलमा बेड अभाव भएको अस्पतालका व्यवस्थापक ओलीले जानकारी दिए।
२५ बेड बट सञ्चालन भएको अस्पतालमा आन्तरिक व्यवस्थापनबाट ४२ बेडसम्म पुर‍्याएर सञ्चालन गरी बिरामीको उपचार गरिरहेको भए पनि अस्पतालमा आउने बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गएपछि भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता आएको उनको भनाइ छ।
‘अस्पतालको ढोकामा आएर बिरामी बसेपछि हामीले बेड छैन भनेर कसरी फर्काउनु’, उनले भने, ‘यो समस्या पटकपटक माथिल्लो निकायलाई जानकारी गराउँदा समेत सुनुवाइ भएको छैन।’
अहिलेको अवस्थामा अक्सिजन बिना उपचार सम्भव नभएको र भुइँमा राखेर उपचार गर्न पनि गाह्रो भएको व्यवस्थापक ओलीले बताए।
अन्नपूर्ण पोस्टमा