नेपालगञ्ज – कोरोना भाइरस -कोभिड–१९ का कारण प्रभावित बनेको उद्योग, व्यवसाय क्षेत्रलाई मौद्रिक नीति मार्फत राहत प्याकेजका कार्यक्रम ल्याउन माग गर्दै नेपालगञ्जका उद्योगी, व्यवसायी सडकमा उत्रिएका छन् ।
नेपालगञ्ज उद्योग वाणिज्य संघको अगुवाईमा बिहीवार उद्योगी, व्यवसायीहरुले दवावमुलक ¥यालीको आयोजना गरेका हुन्। त्रिभुवन चोकबाट शुरु भएको ¥याली न्यूरोड, धम्वोझी हुँदै नेपाल राष्ट्र बैंकको कार्यालयमा पुगेर समापन भएको थियो ।
सो अवसरमा संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले राष्ट्र बैंक नेपालगञ्ज कार्यालयका प्रमुख मुक्तिप्रसाद सापकोटा मार्फत केन्द्रीय कार्यालयलाई राहत प्याकेजका लागि उद्योगी, व्यवसायीका ११ बुँदे माग सहितको ज्ञापनपत्र बुझाए ।
ज्ञापनपत्र बुझाउँदै संघका अध्यक्ष मन्सुरीले सरकारले राहत प्याकेज नल्याउने हो भने अर्थतन्त्र थप धरासायी बन्ने निश्चित भएको स्पष्ट पारे ।ज्ञापनपत्र बुझ्दै राष्ट्र बैंकका प्रमुख सापकोटाले उद्योगी, व्यवसायीले उठाएका मुद्दा केन्द्रीय कार्यालयमा पठाउने जानकारी दिदै जायज मुद्दा सम्बोधन हुने बिश्वास दिलाए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य दामोदर आचार्यले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ बाट विश्व नै आक्रान्त भएको बेला नेपाल जस्तो विकासोन्मुख, रेमिट्यान्स तथा आयातमा निर्भर राष्ट्रको अर्थतन्त्र नै अस्तव्यस्त भएको जनाएका छन्।उनले यसरी अस्तव्यस्त बनेको उद्योग, व्यवसायलाई बजेटले कुनै राहत दिन नसके पनि मौद्रिक नीतिले राहत दिने बिश्वास व्यक्त गरे । संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्यले कोभिड–१९ को संक्रमणको अवस्थालाई हेर्दा यसको असर लामो समय सम्म रहने निश्चत भएको भन्दै विज्ञहरुले अध्ययन र पूर्वानुमानबाट पनि भविष्यमा आर्थिक संकट निम्तिन सक्ने आकंलन गरेर राहत प्याकेज ल्याउनु पर्नेमा जोड दिए ।
महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले निकट भविष्यमा हुने आर्थिक महामन्दीको अवस्थालाई पूर्व आकंलन गर्दै त्यसको असर न्यून गर्ने तर्फ अर्थतन्त्र चलायमान हुनुपर्ने देखिएको बताए । यस्तो परिस्थितिमा उद्योग व्यवसायलाई राहतका निम्ति आर्थिक विधेयकका साथै मौद्रिक नीति मार्फत आवश्यक व्यवस्था गरी राहत तथा सुविधा प्रदान गर्नका लागि संघका तर्फबाट जोडदार माग गरिएको महासचिव चिरञ्जीवी ओलीले जानकारी दिए ।