डढेलोले प्रदूषण बढाउँदै

डढेलो यतिबेला नेपालको मात्र हैन विश्वव्यापी प्रदूषण बढाउने समस्या बनेको छ । डढेलोको तुवाँलोले वायुमण्डल ढाकेपछि अन्य प्रदूषण मिसिएर नेपालसहित विभिन्न मुलुकमा वायु प्रदूषणको दरलाई उच्चतिर धकेलिरहेको छ ।

युरोप, अमेरिका लगायतका देशमा भन्दा बढी एसिया र मध्यएसिया क्षेत्रका जङ्गलमा डढेलो उग्र बनेको छ । यसरी प्रि–मनसुनको सुक्खामा प्रकोपका रूपमा देखा परेको डढेलो नियन्त्रण गर्न एकल प्रयासभन्दा पनि सामूहिक विश्वव्यापी प्रयासको आवश्यकता रहेको विज्ञहरूले औँल्याउनुभएको छ ।

त्यस्तै उत्तर र दक्षिण अमेरिका, अस्ट्रेलियाको जङ्गल क्षेत्र डढेलोबाट अछुतो छैन । एसियाको भारत, थाइल्यान्ड, म्यान्मार, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तानलगायतका मुलुकमा डढेलोको चाप बढ्दो रहेको छ । डढेलो विज्ञ सुन्दर शर्मा भन्नुहुन्छ, “त्यसैले अहिले नेपाल र एसियाको मात्र हैन विश्वकै समस्याका रूपमा डढेलो ज्वलन्त विषय बनेर अगाडि आइरहेको छ ।”
उहाँले भन्नुभएजस्तै विश्वको डढेलोको अवलोकन गरिरहेको नासाको भूउपग्रहले समग्र पृथ्वीकै अधिक भूभाग नै डढेलोको मारमा परेको तस्बिर सार्वजनिक गरिरहेको छ ।

जसअनुसार कुन देशका मात्र हैन कुन महादेशमा कति भूभाग डढेलोमा छ भन्ने अनुसन्धानमा विज्ञहरू जुटेका छन् । ती तस्बिर हेर्दा एसिया र अफ्रिका अन्य महादेशभन्दा बढी डढेलोको चपेटामा परेको देखिएको विज्ञ शर्माले बताउनुभयो । दक्षिण एसिया पछिल्लो समय डढेलोको हब बनेको छ ।

विगत २४ घण्टामा दुई सय स्थानमा डढेलो लागेको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीले देखाएको छ ।
व्यापक रूपमा लागेको डढेलो निभाउन अब नेपालले छिमेकी मुलुकसँग फायर फाइटिङ हेलिकप्टर सहायता माग्नुपर्ने विज्ञ सुन्दर शर्मा बताउनुहुन्छ । नेपालको धनका रूपमा रहेको ४५ प्रतिशत भूभागको वन जोगाउनका लागि समयमै यस्ता सहयोगको पहल नगरेको अवस्थामा आउँदा दिनमा डढेलोले प्रकोपको रूप लिन सक्ने उहाँ बताउनुहुन्छ । डढेलो बढी हुने सिजन अझै सुरु भएको छैन ।
वैशाखदेखि यो झन् चर्को र भयावह हुनसक्छ । बृहत् रूपमा लागेको आगो मानवीय प्रयासले मात्र नियन्त्रण गर्न सम्भव हुन्न । क्यानडा र अस्ट्रेलियामा डढेलो लाग्दा अमेरिकाको फायर फाइटिङ विमानले आगो निभाउन सघाएको थियो । विश्वव्यापी सहकार्यले नै यस्ता खालको विपत्बाट बच्न सकिने शर्मा सुनाउनुहुन्छ । दक्षिण एसियामा डढेलोलगायतका विपत्बाट जोगिनका लागि विभिन्न मुलुकले सामूहिक कदम चाल्ने अभ्यास भने निकै कम छ ।

#gorkhapatraonline.com