सुर्खेत – नेकपा एमालेमा देखिएको विवादको बाछिटा कर्णाली प्रदेश सरकारसम्म आइपुगेको छ । एमालेको एउटा समूहले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ भने अर्को समूहले कायमै रहेको बताएको छ ।
बुधबार एमाले संसदीय दलका नेता यमलाल कँडेलले संसदीय दलको बैठक राखे, जसमा एमाले अध्यक्ष केपी ओली समूहका १० प्रदेशसभा सदस्य उपस्थित थिए । वरिष्ठ नेता माधवकुमार नेपाल समूहका ९ जना प्रदेशसभा सदस्य बैठकमा गएनन् ।
प्रदेशसभामा नेकपा एमालेबाट २० सांसद निर्वाचित भएका थिए । जसमध्ये राजबहादुर शाही सभामुख छन् ।
बैठकपछि कँडेलले पत्रकार सम्मेलन गरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको बताए । साथै सरकारमा रहेका तीन मन्त्रीलाई फिर्ता आउन निर्देशन दिए ।
तर त्यसको केहीबेरमा नेपाल समूहका सांसदहरुले सरकारलाई दिएको समर्थन कायमै रहेको बताएका छन् ।
एमाले संसदीय दलको नाममा गुटगत बैठक भएको कर्णाली सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेक एमाले सांसद प्रकाश ज्वालाले बताए ।
‘गुटगत बैठक प्रचलित कानुन, बिधि र प्रक्रियासम्मत नभएको प्रष्ट पार्न चाहन्छौं’ उनले भनेका छन्, ‘औपचारिक सूचना नदिएर बोलाइएको गुटगत बैठकले गरेका भनिएका निर्णयहरुप्रति हाम्रो असहमति छ ।’
नेपाल समूहका सांसद ज्वालाले सरकारलाई एमालेको समर्थन कायमै रहेको समेत बताएका छन् । onlinekhaber