बाँके- बाँकेको राप्तीसोनारी गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई झोला, विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण गरिएको छ ।
गाउँपालिकाको सहयोगमा दलित सेवा संघ बाँकेले खुना, दलित, कम्लहरी बालिका र अति विपन्न ८० जना बालबालिकालाई झोला, विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण गरेको हो । संघका अध्यक्ष कृष्ण बहादुर विकको सभापतित्व तथा गाउँपालिकाका अध्यक्ष लाहुराम थारुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संघका सदस्य तोजिन्द्र बहादुर विकले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य ब्यक्त गरेका थिए ।
गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले विद्यार्थीहरुको पढाईमा सहयोग पुगोस् भन्ने उद्देश्यले गाउँपालिकाले शैक्षिक सामग्री वितरण गर्दै आएको बताए । शैक्षिक विकासका लागि गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३ करोड ३० लाख बजेट छुट्टाइएको उनकाे भनाइ छ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत, वडा नम्बर ८ का अध्यक्ष खुम बहादुर बस्नेत, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि लिलमान परियार, नेरा मावि अगैयाका प्रधानाध्यापक ओमप्रकाश थापा, शिक्षा समिति सदस्य एवं नेरा आधारभूत विद्यालय महेन्द्रपुरका प्रधानाध्यापक टोप बहादुर सुनार लगायतको उपस्थिति थियो ।