सुर्खेत – हात बाँधिएको अवस्थामा कर्णाली नदीमा दुई बहिनीको शव भेटिएको छ । दैलेखको आठविस नगरपालिकाका स्थानीयले हात बाँधिएको अवस्थामा पानीमा डुबिरहेको दुई बालिकाको शव भेटेपछि प्रहरीलाई खबर गरेका हुन् ।
मृतक बालिका आठविस नगगरपालिका–३ का स्थानीय मानसिहं बडुवालका १६ बर्षीय छोरी कल्पना बडुवाल र १२ बर्षकी सरिता बडुवाल रहेको प्रहरीले जनाएको छ । उनीहरुको शव पानीमा डुबिरहेको अवस्थामा देखिएको भनेर सोमबार बेलुका ५ बजेतिर प्रहरीलाई खबर आएको ईलाका प्रहरी कार्यालय राकमका सहायक प्रहरी निरीक्षक गोविन्द ढकालले सेतोपाटीलाई जानकारी दिए ।
उनका अनुसार दैलेख र अछामको बीचमा रहेको कर्णाली नदीको अछामतर्फको किनारमा दुई बहिनीको शव भेटिएको हो । घटनाको बारेमा थप बुझ्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली त्यसतर्फ गईरहेको छ । ‘सदरमुकामबाट र दुल्लुबाट थप प्रहरी टोली आईरहेको छ, बीच बाटोमा पुगिसक्यो होला,’ असई ढकालले भने ।
घटनाको बारेमा बुझ्दा रहस्यमय देखिएको छ । असई ढकालका अनुसार मृत भेटिएका दुई बालिकाका बुवा मानसिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घरभन्दा केही टाढा रहेको उनलाई प्रहरीले सोमबार बेलुका नियन्त्रणमा लिएको हो ।
मानसिंहको परिवारमा ६ जना सदस्य थिए । बडुवालकी श्रीमति, तीनजना छोरी र एक छोरा सोमबार दिउँसो नै घरबाट निस्किएको भन्ने बुझिएको ढकालले बताए । ‘बुवालाई हामीले ल्याएर यहाँ अफिसमै राखेका छौं, उहाँका एक छोरा र श्रीमति भेटिएका छैनन्,’ उनले भने ।
बडुवालले बताए अनुसार घरायसी विवाद हुँदा श्रीमति छोराछोरी लिएर घरबाट निस्किएको ढकालले जानकारी दिए ।
‘अहिले शव त्यहीँ छन्, थप प्रहरी टोली आयो भने बाँकी प्रक्रिया अगाडि बढ्छ,’ असई ढकालले भने । उनका अनुसार घटना स्थलमा अवस्था भने सामान्य छ ।