काठमाडौं – पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालाहरुमा ४ हजार ५० नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । गोरखा, पालुङटारका ४४ वर्षीय पुरुष र रुपन्देही, देवदेहका ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
पालुङटारका पुरुष १६ गते कतारबाट आएका थिए । पालुङटारको जीवनज्योति माविको क्वारेन्टिनमा बस्दा स्वास्थ्य बिगि्रँदै गएपछि जिल्ला अस्पतालको आइसोलेनमा भर्ना गरिएको थियो । उपचारकै क्रममा कोरोना संक्रमण पुष्टि भयो । उनको २० असारको दिन विहान ५ बजेर ५ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ ।
देवहदका पुरुष क्षयरोगको उपचारका लागि १४ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । उपचारकै क्रममा उनको १७ गते निधन भयो । त्यसको भोलिपल्ट उनमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ३४ पुगेको छ ।