छिन्चुमा ईलाका प्रशासन स्थापनाका लागि पहल गर्छु-प्रमुख जिल्ला अधिकारी रेग्मी

सुर्खेत – सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले छिन्चुमा ईलाका प्रशासन कार्यालय स्थापना गर्नका लागि आवश्यक पहल गर्ने बताएका छन ।
शुक्रबार भेरीगंगा नगरपालिकाले गरेको स्वागत कार्यक्रममा उनले छिन्छु क्षेत्रको प्रशासन, शान्ति सुरक्षालाई अझ मजबुत गराउनका लागि आफ्नो तर्फबाट सबै पहल गर्ने बताए ।
कर्णाली प्रदेशको प्रवेशद्धार भएकोले पनि यहाँ सुरक्षा उपस्थित बढाउनुपर्ने आवश्यकता रहेको बताउँदै उनले भेरीगंगा नगरपालिकाले गरेको निर्णय अनुसार आवश्यक पहल गर्ने बताए।
नगरपालिकाले दुई पटक छिन्चुमा ईलाका प्रशासन कार्यालय स्थापनाका लागि नगर सभामार्फत निर्णय गरी पठाएको विषयलाई आवश्यक निर्णयका लागि सिफारिस भईसकेको समेत उनले जानकारी दिए। उनले बजार अनुगमन, विकास निर्माण लगायतका सम्पूर्ण कार्यमा पारदर्शीताका साथ काम गर्नुपर्ने भन्दै स्थानीय सरकारले धेरै कार्य गर्न सक्ने बताए।
कार्यक्रममा नगर प्रमुख भुपेन्द्र बहादुर चन्दले नगरपालिकाले गरेका महत्वपूर्ण निर्णय कार्यान्वयका लागि सहयोग गरिदिन समेत आग्रह गरे । उनले भेरीगंगा ५ बबई क्षेत्र हालसम्म नक्सांकनमा नसमेटिएको भन्दै सो कार्यका लागि समेत आवश्यक सहयोग गरिदिन आग्रह गरेका थिए ।