प्रचण्ड–माधव पक्षले पार्टी छाडेर गएपछि मात्र संवैधानिक नियुक्ति गर्न सफल भएका छौंः ओली

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल पक्षले पार्टी छाडेर गएको दावी गरेका छन् । उनले सो पक्ष पार्टीबाट गएपछि मात्र संवैधानिक नियुक्त गर्न सफल भएको दावी समेत गरे । उनीहरुले विकासको विरोध गरेको कारण संवैधानिक परिषद्को बैठकहरु बस्न नसकेको बताउँदै ओलीले नेपालबाट कम्युनिस्ट सिध्याउनका लागि केही व्यक्ति लागि परेको पनि दावी गरे ।

उनले केही दिन पहिले प्रचण्ड–माधव समूहले केपी ओली जनसहभागिता यता हेर्न आउ भनेको प्रति कटाक्ष गर्दै भने, ‘आज भन्छु यता एकपटक नजर लगाउनुस् ।’ विराटनगरमा शनिबार भएको आफूपक्षीय सभामा उनले जनसहभागितालाई ‘ड्रोनले पनि फोटो खिच्न सक्दैन, चन्द्रमाले मात्र हेर्न सक्छ’ भन्दै विशाल सहभागिता रहेको बताए ।
उनले प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कडा आलोचना पनि गरे ।

विराटनगरमा शनिवार आयोजित नेकपा ओली समूहको जनसभालाई सम्बोधन गर्दै उनले प्रचण्डले विगतमा वैद्य र डाक्टरको लिएको र उनीहरुले छाडेपछि अहिले झाँक्रीको साथ लिएको भन्दै कटाक्ष गरे । विगतमा प्रचण्डको सारथीको रुपमा मोहन वैद्य र डा बाबुराम भट्टराई रहेका थिए भने उनीहरुहले प्रचण्डको साथ छाडेर बाटो लागेको सन्दर्भमा अहिले रामकुमारी झाँक्रीहरुलाई लिएर अघि बढेको ओलीको कटाक्ष थियो ।

उनले भने, ‘उहाँ (प्रचण्ड) लाई वैद्यले छाडे, त्यसपछि डाक्टर लिनुभयो, डाक्टरले छाडेपछि अहिले झाँक्री लिनुभएको छ । अब झाँक्रीले बचाउन सक्नु हुन्न उहाँलाई, नेपालको राजनीतिमा बचाउन सम्भव छैन, सिध्धिसकेको प्रचण्डलाई मैले ठूलो राखिदिएको थिएँ तर उहाँमा अंहाकार चढेको छ ।’

उनले जनसहभागिता कस्तो हुन्छ भन्ने जान्न विराटनगरको सभा हेर्न पनि प्रचण्ड नेपाल समूहलाई चुनौति दिए । ratopati