जुम्ला- जिल्ला सदरमुकाम खलंगामा अनिश्चितकालीन निषेधआज्ञा जारी गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका कर्मचारीहरूमा कोरोना भाइरस संक्रमण देखिएपछि समुदायमा फैलिन नदिन भन्दै स्थानीय प्रशासनले सदरमुकामा निषेधाज्ञा जारी गरेको हो ।
प्रतिष्ठानमा कार्यरत चार जना स्वास्थ्यकर्मीसहित ८ जनामा कोराना पोजेटिभ देखिएको छ । स्वास्थ्यकर्मीबाहेकका चार जना जिल्ला बाहिरको भए पनि जुम्लामा अन्य पेसा व्यवसायमा संलग्न भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ । आठ जनामध्ये दुई जना महिला हुन् । मंगलवार राति गरिएको पीसीआर परीक्षणमा अस्पतालमा कार्यरत चार जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको अस्पतालका निर्देशक डा. मंगल रावलले बताए । संक्रमणको थप जोखिम बढ्ने भन्दै अस्पतालले समेत अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द गरेको छ ।
बुधवार जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार असार १० गते ३ बजेदेखि निषेधाआज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिएका छन् । निषेधाज्ञा अनुसार सिल गरिएको क्षेत्र चन्दननाथ नगरपालिकाको पूर्वमा दान साँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिला नदीसहितका चार किल्ला रहेका छन् ।