सुर्खेत – गत मंसिर २१ गतेदेखि २८ गतेसम्म वीरेन्द्रनगरको खुल्लामञ्चमा सञ्चालन भएको महायज्ञबाट नौ करोड बढि रकम संकलन भएको छ ।
श्रीमद भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ मुल आयोजक समितिका अनुसार महायज्ञबाट नौ करोड ७६ लाख ९२ हजार आठ सय ४३ रुपैंया संकलन भएको हो । उक्त सबै रकम मानव सेवा आश्रमको कर्णाली प्रदेश स्तरीय भवन निर्माणमा लगानी गरिने समितिले जनाएको छ ।
मुल आयोजक समितिका अनुसार महायज्ञमा ५० लाख ७४ हजार ८७ रुपैंया खर्च भएको छ । सहयोग प्राप्त र खर्च रकम जोड्दा नौ करोड २६ लाख बढि रकम समितिलाई मुनाफा भएको हो । यो सबै रकम आश्रम निर्माणमा लगानी गरिने समितिका कोषाध्यक्ष टिकाराम चपाईले बताए ।
उनका अनुसार दान प्राप्त रकम अन्तर्गत तीन करोड ६८ लाख ८२ हजार पाँच सय ८७ रुपैंया सहयोग आएको छ । जसमा नगद, क्यू आर तथा आमलाइन माध्यमबाट र चेकबाट सो रकम प्राप्त भएको हो ।
यस्तै प्रतिबद्धता रकम अन्तर्गत संस्थागत र व्यक्तिगत प्रतिबद्धता अनुसार पाँच करोड ६१ लख ९५ हजार ६ सय १४ रुपैंया सहयोग प्राप्त हुने भएको छ । त्यस्तै ४२ लाख ७४ हजार आठ सय ८२ रुपैंया कलशबाट प्राप्त भएको समितिले जानकारी दिएको छ ।
दानपेटिकामा तीन लाख २६ हजार चार सय ५५ रुपैंया दान प्राप्त भएको थियो । भने किताबबाट १३ हजार तीन सय पाँच रुपैंया प्राप्त भएको छ ।
खर्च रकम अन्तर्गत प्रचार प्रसार तथा छपाई, भाडा तथा ज्याला, खाद्यन्न तथा भान्सा, पुजा खर्च, कलाकार तथा पण्डित खर्च, लत्ताकपडा, विद्युत इन्धन तथा ढुवानी, अतिथी सत्कार, सरसफाइ, यातायात र अन्य विभिद खर्च भएको छ ।
समितिको आय व्यय प्रतिवेदन अनुसार कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा मानव सेवा आश्रमको भवन निर्माण प्रयोजनको लागी एक करोड विनियोजन गरेको उलेख छ । भने दान प्राप्त रकम मध्य ५१ हजार रुपैंया मानव सेवा आश्रमको अक्षय कोषको लागि प्राप्त भएको समितिले जनाएको छ ।
निर्माण प्रक्रियामा अन्योल
महायज्ञबाट ठुलो रकम संकलन गरेर आश्रमको भवन निर्माणमा लगानी गर्ने निर्णय गरिएपनि भवन निर्माण प्रक्रिया अन्योलमै छ ।
ठुलो लगानीमा बन्ने उक्त भवन प्याकेजमा समिति मार्फत बनाउने वा सार्वजनिक टेण्डर प्रक्रियामा जाने भन्ने अन्योलमै रहेको समितिका कोषाध्यक्ष टिकाराम चपाईले बताए । उनलृे भने, ‘यसबारे हामी छलफलमै छौं । उचित निर्णय हुनेछ ।’
उनका अनुसार आश्रमलाई भवन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका–११, स्थित गंगामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन समितिले २९ विघा जग्गा दिएको छ । डिभिजन वन कार्यालय सुर्खेतले धार्मीक वन क्षेत्रका लागि स्विकृती दिएको उनले बताए ।
अब उक्त वन क्षेत्रमा संरचना निर्माणका लागि मन्त्रिपरिषदको निर्णय हुनुपर्ने उल्लेख गर्दै सो निर्णयपछि निर्माणको काम सुरु हुने उनले बताए ।
महायज्ञ मूल आयोजक समितिका संयोजक डा. नवराज केसीका अनुसार त्यहाँ भवन निर्माणका लागि आठ देखि १० करोड बढि लगानी आवश्यक छ । सरकारको पुँजीले मात्र भवन निर्माण सम्भव नभएपछि समाजको पुँजी पनि यसमा लगानी गर्न महायज्ञ गरिएको उनले बताए ।
भवनमा सडक आश्रित मानवको उद्धार गरेर राख्ने मात्र नभई मानव सेवा बुझाउने मानवता अध्ययन केन्द्रको स्थापना गरिने संयोजक केसीको भनाइ छ । २०७५ माघ १८ गतेदेखि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका—१२ मा आश्रमले भाडाको घरबाट सेवा दिँदै आएको छ । हालसम्म चार सय ६ जना बेसहारालाई उद्धार गरिएको आश्रमले जनाएको छ ।
२०६९ सालमा स्थापना भएको आश्रमले हालसम्म देशभरका १० हजार ६ सय ८९ जना भन्दा बढी सहयोगाक्षेपी सडक मानवको उद्धार गरी व्यवस्थापन गराइसकेको छ । आश्रमले सातवटै प्रदेशमा गरी १९ जिल्लामा २४ वटा सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ ।