बच्चालाई नुन दिने कि नदिने ?

सुर्खेत – बच्चा ६ महिना पुरा हुने वित्तिकै आमाको दूधका साथसाथै थप पोषिलो खाना खुवाउन सुरु गर्नु पर्दछ । यसरी खुवाइने खानाको मात्रा बच्चाको उमेर बढेसँगै बढाउदै लैजानु पर्दछ । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतमा कार्यरत बरिष्ठ जनस्वास्थ्य अधिकृत करुणा भट्टराईका अनुसार बच्चा कुपोषित हुनुको एउटा प्रमुख कारण बच्चाको उचित र सन्तुलित खानपान नहुनु हो ।

स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतमा कार्यरत बरिष्ठ जनस्वास्थ्य अधिकृत करुणा भट्टराई ।

उनका अनुसार बच्चाको खानामा अन्न, गेडागुडी, सागपात, दुधदही, अण्डा तथा माछामासु समावेश गर्नुपर्दछ । र खानामा अण्डा तथा मासु मिसाउदा भर्खरै ६ महिना पुरा भएको बच्चाको खानामा एउटा अण्डाको आधि भाग वा नरम गरी पकाइएको कलेजोको एक÷दुई टुक्रा राख्न सकिन्छ । भने उमेर बढ्दै जादाँ सिंगै अण्डा वा दुई÷तीन टुक्रा जति कलेजो वा मासु नरमसंग पकाएर राख्न सकिन्छ ।
चिकित्सकका अनुसार बच्चाको चिनी र नुन खाने बानीमा सुरुवाती समयदेखि नै ध्यान दिनुपर्छ । अन्तराष्ट्रिय स्थरमा बच्चालाई एक वर्षसम्म चिनी र नुन दिनै नहुने बताइन्छ । छिमेकि मुलुक भारतमा समेत एक वर्षभित्रका बच्चालाई नुन चिनी दिन नहुने चलन छ । किनकी बच्चाको आन्द्रा निकै कोमल हुने भएकोले नुन–चिनीले उनीहरूलाई अपचको समस्या वा आन्द्रामा समेत समस्या हुनसक्ने भारतिय चिकित्सकहरु बताउछन् ।
एक वर्षभित्रका बालबालिकालाई फलफूल दिन सकिन्छ जसले उनीहरूको शरीरले पर्याप्त मात्रामा सुगर पाउन सकोस् । तर उनीहरूलाई नुन चिनी हालिएका खानेकुरा दिनु हुँदैन । स्रोतका अनुसार तीन वर्षभन्दा माथिका बच्चालाइ सन्तुलित मात्रामा चिनी–नुन दिईयो भने बच्चा फुर्तिलो बन्छ र उनीहरूको उचाइ पनि बढ्छ । यसका लागि अभिभावकले आफ्नो खानपिनमा पनि ध्यान दिन आवश्यक छ किनभने बच्चाले ठुलालाई हेरेर नै खान–पिउन सिक्छन् ।
तर स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतमा कार्यरत बरिष्ठ जनस्वास्थ्य अधिकृत करुणा भट्टराइका अनुसर नेपालमा भने यस्ता कुरामा खासै ध्यान दिईदैन । यस्ता खालका रिसर्च तथा अध्ययन गरिएको छैन । जसले गर्दा बच्चैदेखि थाइराइटको समस्या, मोटोपना बाल्यकालदेखि नै दाँत गल्ने, हड्डी र आँखा कमजोर हुनेजस्ता समस्या बढ्ने गरेको पाईन्छ । बच्चाको चिनी र नुन खाने कुरामा ध्यान दिनुपर्ने उनको भनाइ छ । उनले भनिन् ‘बच्चा तथा परिवारको खानामा विविधिकरण तथा खाना सन्तुलित हुन पर्दछ ।’