‘कस्तो झुर भयो । पानीले ल्याङ गर्यो नि ।’
‘ललितको ह्याट्रिक बल थियो यार !’
सोमबार पानीले खेल बिथोलेपछि यी माथिका वाक्यहरू नेपाली दर्शकको मुखबाट निस्केका थिए ।
एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा नेपाल भिड्दै थियो चिरपरिचित प्रतिद्वन्दी संयुक्त अरब इमिरेट्स (यूएई) सँग । विजेताले आउने सेप्टेम्बरमा हुने एसिया कपमा खेल्ने पक्का हुन्थ्यो ।
टस हारेर ब्याटिङ गरेको यूएईका ब्याट्सम्यानहरूलाई आच्छु आच्छु बनाएका थिए नेपाली बलरहरूले । यूएईको नौ विकेट गैसकेको थियो । पानी दर्कियो । खेल अवरुद्ध भयो । दर्शकहरू खेल सुचारू होला भन्ने आशामा छाता उघारेर कुरिरहे, तर आकाश उघारिएन । बाँकी खेल भोलिपल्ट मंगलबार हुने भयो ।
मंगलबार बिहान त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान जाने बाटो अघिल्लो दिन भरिभराउ जस्तै थियो । हुलका हुल मान्छे, मोटरसाइकल, ट्याक्सीका लावा लस्कर । मानिसका हात हातमा नेपालको झन्डा, चौका, छक्का लेखिएका प्लेकार्डहरू । मौरीहरू घारमा पस्न प्वालबाट तछाडमछाड गरे जस्तो क्रिकेट मैदानको घासे प्यारापिट भित्र छिर्न आतुर समर्थकहरू । कुनै कुम्भ मेला भर्न आएको प्रतित हुने माहोल थियो त्यो ।
मंगलबार पनि आकाशमा बादल डम्म थियो । सिंगो नेपाल पानी नपरोस् भनेर प्रार्थना गर्दै थियो । नभन्दै वर्षा भएन । सायद बादल पनि नेपालको ऐतिहासिक जितको साक्षी बस्न चाहेको थियो । नेपालले खेल जित्यो । रंगशालामा खुशी उर्लियो ।
गज्जबको आशक्ति छ क्रिकेटमा नेपालीहरूको । नेपाली टिमले ‘बलिङ’ गर्दा होस् वा ‘ब्याटिङ’ गर्दा प्रत्येक बलमा दर्शकको ध्वनिले आकाश छुन्छ । जब नेपालको ‘विकेट’ जान्छ वा अर्को टिमले बल सीमारेखा पार कटाउँछ दर्शक दीर्घामा सन्नाटा छाउँछ । समुन्द्रमा आएको विशाल छाल पछिको सन्नाटा जस्तो ।
नेपाली दर्शकहरू सन्दीपले ‘गुगली’ फाल्दा गुलजार हुन्छन् । रोहितको ‘कभर ड्राइभ’ हान्दा मैदानभरि डंका पिट्छन । कुशलले बल हावामा मैदान पारी पुर्याउँदा जुरुक्क उचालिन्छन् । मैदानमा मात्र होइन संसारभरिका क्रिकेटप्रेमी नेपालीहरू काम छोडेर टेलिभिजन अनि युट्युबका स्क्रिनमा आँखा टाँसेर बस्छन् ।
घरि घरि त लाग्छ, क्रिकेट नेपाल अनि नेपाली फ्यानहरू पाएर भाग्यमानी भएको छ । हुन पनि पछिल्लो तीन महिनामा नेपाली क्रिकेट टिमले गज्जब गरेको छ । जितेको जित्यै छ । अलेक्जेन्डरले एक पछि अर्को युद्ध जिते जस्तो । हार्न बिर्सेको छ नेपाली क्रिकेट टिमले ।
तीन महिना अगाडि नेपाली टिमको बागडोर सम्हालेका मोन्टी देसाई नेपाली क्रिकेटका द्रोणाचार्य बनेका छन् । उनको ‘मिदास टच’ ले नेपाली क्रिकेट अहिले इतिहासकै स्वर्णिम कालखण्डमा परिणत हुने चरणमा छ ।
अब नेपाली क्रिकेट ‘फ्यान’ले विराट कोहली ललितको बलमा ‘एलबी डब्लू’ भएको, बाबर आजम सोमपालको बलमा ‘इनसाइड एज’ लागेर ‘स्टम्प’ छरपस्ट भएको, शाहिन अफ्रिदीको बललाई कुशलले ‘पुल शट’मा छक्का हानेको हेर्न पाउने भएका छन्
देसाई आउनु अगाडि नेपाललाई एक दिवसीय मान्यता जोगाउन वर्ल्ड क्रिकेट लिग(२ का बाँकी १२ खेलमध्ये ८ खेल जित्नुपर्ने थियो । यसअघिका ८ खेलमा मात्र २ खेल जितेको नेपाली टिमको आत्मविश्वास पातालमा थियो । नेपालमै आयोजना हुने अर्को प्रतियोगिता एसीसी प्रिमियर कपको बिजेता हुँदै एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकासँग खेल्ने कुरा त झन् सगरमाथा चढ्ने जत्तिकै कठिन थियो ।
नेपाली खेलाडीको आत्मबललाई जीवन दिन ‘वान बल ब्याटल’ रूपी अक्सिजन लिएर झुल्किए मोन्टी देसाई । उनको कमान्डमा नेपालले वर्ल्ड क्रिकेट लिग(२ का १२ मध्ये ११ खेलमा विजयी भएर एक दिवसीय मान्यता मात्र जोगाएन इतिहासमै दोस्रोपटक क्रिकेट वर्ल्डकप छनोटमा स्थान बनायो ।
एसीसी प्रिमियर कपमा अविजित भएर एसिया कपको टिकेट काट्यो । नेपाली क्रिकेट टिमलाई अभूतपूर्व सफलताको सगरमाथा आरोहण गराउन तेञ्जिङ बनेका प्रशिक्षक देसाईको जति तारिफ गरे पनि कमै हुन्छ ।
यी मनुष्य यस्तो बेला आए जुन बेला नेपाली क्रिकेटको भविष्यमा बादल लागेको थियो । यी सज्जनले यस्तो जादुयी तीर चलाए कि बादल फाटेर नेपाली क्रिकेट आकाशमा चम्किला ताराहरू देखिन थालेका छन् । नेपाली क्रिकेटले बाटो समातेको छ । लय सम्हालेको छ ।
मुर्झाएको नेपाली क्रिकेटमा आशाको दिप बलेको छ । नेपालले जित्न सिकेको छ । अझ भनौं जित्ने बानी पारेको छ । भारत, पाकिस्तान जस्ता क्रिकेटका महारथीसँग खेल्ने हाम्रो क्षितिज पारीको सपना अचानक विपना भएको छ ।
अब नेपाली क्रिकेट ‘फ्यान’ले विराट कोहली ललितको बलमा ‘एलबी डब्लू’ भएको, बाबर आजम सोमपालको बलमा ‘इनसाइड एज’ लागेर ‘स्टम्प’ छरपस्ट भएको, शाहिन अफ्रिदीको बललाई कुशलले ‘पुल शट’मा छक्का हानेको हेर्न पाउने भएका छन् ।
नेपाली क्रिकेटमा नयाँ तरङ्ग ल्याउन, नेपाली क्रिकेटप्रेमीको अनुहारमा हर्षको रंग फर्काउन मद्दत गरेकोमा मनैदेखि धन्यवाद कोच मोन्टी देसाई ! – तुलसी पौडेल/अनलाईन खबर।