राखेपका सदस्य सचिवले गरे, कर्णाली रंगशाला अनुगमन !

सुर्खेत – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले शुक्रबार कर्णाली प्रदेश रंगशालाको अनुगमन गरेका छन् ।

अनुगमनपछि बोल्दै उनले अब आगामी चैत २३ देखि ३० गतेसम्म तोकिएको मितिमै कर्णालीमा प्रतियोगिता संचालन हुने बताए । ‘राष्ट्रिय प्रतियोगिता संचालन गर्न कर्णाली सक्षम छ । यसबारे प्रश्न धेरै आएकाछन् । अब त्यसको जवाफ काम गरेर दिने हो’ उनले थपे, ‘नमूना कर्णाली रंगशाला प्रदेश सरकारले आफै बनाउनु देशकै उत्कृष्ट काम हो । यो स्तरमा कुनै पनि प्रदेशले काम गरेका छैनन् ।’

कुल संचालन हुने ३६ वटा प्रतियोगितामध्ये राखेपले ३५ खेल प्रस्ताव गर्दा जसमध्ये कर्णालीले २४ वटा खेल संचालन गर्ने भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषदले पेश गरेको प्रस्तावहरु निकै सहरानिय रहेको उल्लेख गर्दै सदस्य सचिव घिसिङले खेलहरु २ चरणमा भएपनि संचालन हुने बताए ।

यता इतिहासमा पहिलोपटक राष्ट्रियस्तरको प्रतियोगिता कर्णालीमा सञ्चालन हुन लागेको छ । तर राष्ट्रिय खेलकुदको तिब्र तयारी भइरहँदा कर्णाली प्रदेश खेलकुद परिषद भने सदस्य सचिव बिहिन छ । परिषदमा सदस्य सचिव विश्वामित्र संञ्यालको यही पुस गत ६ गतेदेखि नियुक्ति सकिएको छ ।
प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीका अनुसार अब बस्ने मन्त्रीपरिषदको बैठकले सदस्य सचिवको टुंगो लगाउने तयारी छ ।

आगामी चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको छ । प्रतियोगिताको तयारी स्वरूप विभिन्न खेल गतिविधि सञ्चालन हुनुका साथै खेलकुद भौतिक संरचनासमेत धमाधम निर्माण भइरहेका छन् ।

प्रदेश गौरवको आयोजनाअन्तर्गत कर्णाली रंगशाला निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । रंगशाला निर्माणको करिब ९६ प्रतिशत काम सकिएको हो । बाँकी अबको दुई महिनाभित्र सम्पन्न गर्ने गरी तीव्र काम भइरहेको छ । भने जिल्ला–जिल्लामा खेल संरचना धमाधम बन्दैछन् ।

प्रदेश रंगशाला १० औँ राष्ट्रिय खेलकुदलाई नै लक्षित गरी निर्माण थालिएको थियो । २०८१ जेठ ११ गतेभित्र रंगशाला निर्माण सम्पन्न गर्ने समयसीमा रहे पनि कोरोना महामारीलगायतका कारण निर्माण सम्पन्न हुन केही ढिलाइ भएको हो । प्रदेश रंगशाला कर्णाली सरकार स्थापनाकालदेखि अहिलेसम्मको एकमात्र गौरवको आयोजना हो । यो रंगशालाभित्र मात्रै १६ वटा खेल खेल्न सकिने गरी संरचना तयार हुँदैछन् ।

१० हजार दर्शक अट्ने क्षमताको रंगशालाको फिनिसिङलगायतका काम हुदै छन् । अत्याधुनिक तरिकाले काम अघि बढाइएको रंगशालाको पहिलो चरणमा डिजाइन, फिल्ड निर्माणलगायत काम भएका थिए । त्यो काम ६ महिनाको अवधिमै सकिएको थियो । छाना छाउने, दुबो रोप्ने, हरियाली बनाउनेलगायतका काम पनि सकिएका छन् ।