रुपन्देही – आजदेखि बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको गणना सुरु भएको छ । करिब तीन महिनाभित्र बाघको संख्या यकिन हुने बताइएको छ । निकुञ्जले बाघ गणनाका लागि अघिल्लो सोमबार र मंगलबार प्राविधिकलाई प्रशिक्षण दिएको थियो ।
हरेक चार वर्षमा बाघ गणना हुन्छ । पछिल्लो गणनामा ८७ वटा बाघ भेटिएकामा यसवर्ष बाघको संख्या बढ्ने र १ सय १५ देखि १ सय २५ को संख्यासम्म पुग्ने अनुमान निकुञ्जको छ । बाघ गणना बाँके र बर्दियामा एकैसाथ गर्न लागिएको हो । गणनाका लागि यी दुई जिल्लामा चारवटा बल्क बनाइएको छ ।
बाघ गणनामा ७ सय वटा ग्रिडमा ७ सय २० वटा क्यामेरा राखिने भएको छ । एउटा ग्रिडमा कम्तीमा १५ देखि २१ दिनसम्म क्यामेरा ट्र्याप राखिनेछ । एक दर्जन हात्ती, प्राविधिक, कर्मचारीसहित झन्डै तीन सय जना बाघ गणनामा खटिने भएका छन् ।
बाघको संख्या बढ्दै गएपछि यहाँ वन्यजन्तु र मानव द्वन्द्व चर्किंदै गएको छ । विगत तीन वर्षयता बाघको आक्रमणमा ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ । निकुञ्जभित्र र मध्यवर्ती क्षेत्रमा बाघले आक्रमण गर्दा गत आर्थिक वर्षमा १२ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षमा तीन जनाको बाघको आक्रमणमा परी मृत्यु भइसकेको छ । अधिकांश घटना मध्यवर्ती क्षेत्र र खाता जैविक मार्गमा हुँदै आएको छ ।
बाघको त्रास बढ्न थालेपछि मध्यवर्ती र खाता जैविक मार्गका बासिन्दाले बाघलाई यहाँबाट अन्यत्र सार्न माग गर्न थालेका छन् । सबैभन्दा बढी त्रास गेरुवा गाउँ, मधुवन र ठाकुरद्वारामा छ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख विष्णुप्रसाद श्रेष्ठले बाघको क्षमता अध्ययन गरिरहेकाले त्यसका आधारमा व्यवस्थापन हुने बताए ।
विशेषगरी मध्यवर्ती क्षेत्रका बासिन्दा चरिचरन, घाँस–दाउरा लिन मध्यवर्ती क्षेत्रमा जाँदा बाघको आक्रमणमा पर्दै आएका छन् । आहाराको खोजी गर्ने क्रममा बाघ मध्यवर्ती क्षेत्रका जंगलमा पस्ने गर्छ । यसै ठाउँमा सर्वसाधारणमाथि आक्रमण गर्न थालेको हो ।